आइतबार पनि मधेश–थरुहट बन्दको घोषणा
लहान खबैर/ । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथाबत राख्दै आइतबार पनि आमहड्तालको घोषणा गरेको छ ।
थप कार्यक्रम अनुसार शनिबार साँझ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मसाल जुलुस प्रदर्शन गरिनेछ । निर्वाचनमा मनोनयनको दिन अर्थात आइतबार झापादेखि कञ्चनपुरसम्म आमहड्तालको घोषणा गरेको छ ।
शुक्रबार बसेको राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथाबत राखेको छ । संघीय गठबन्धन र सरकारबीचको सम्झौता विपरीत सरकारले एकतर्फी रुपमा निर्वाचनको घोषणा गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसअघि घोषित कार्यक्रम अनुसार असार पाँच गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस, ६ देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई अवरोध गर्ने, ८ गते मोटसाइकल रैली, ९ गते मसाल जुलुस र १० गतेदेखि अनिश्चितकालिन बन्दको आह्वान गरिएकै छ ।
यसबीचमा थप कार्यक्रमहरु सार्वजनिक गरिनेछ भने दुई नम्बर प्रदेशको कार्यक्रममा केही हेरफेर हुने राजपाका नेताहरुले बताएका छन्