राजपाको बन्दले मध्य तराईको जनजीवन प्रभावित
लहान खबैर/ जेठ ३० । राष्ट्रिय जनता पार्टी नेपाल सहितको सङ्घीय गठबन्धनले आव्हान गरेको तराई–मधेस–थरुहट बन्दले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्द कर्ताहरुले विहानैदेखि यस क्षेत्रका उद्योग कलकारखाना, बजार तथा शिक्षण संस्था बन्द गराएका छन् ।
बन्दका कारण जनकपुरसहित मध्य तराईको जनजिवन ठप्प भएको हो । यस क्षेत्रको बजार, पसल, व्यापारिक केन्द्र, शैक्षिक संस्थाहरु बन्द छन भने जनकपुरवाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन समेत चल्न सकेका छैनन् । बन्दकर्ताहरुले विहानै देखि नगरमा लाठी सहित मोटरसाइकल जुलुस प्रदर्शन गर्दै बजार बन्द गराएका छन् । बन्दकर्ताले मालवाहक ट्रक, ट्रिपर सहित करीव एक दर्जन सवारी साधनमा तोडफोड गरेका छन् ।
सरकारले संविधान संशोधन, मुद्दा फिर्ता, स्थानीय तहको सङ्ख्या थप लयायतका माग पूरा नगरेको भन्दै राजपाले दोस्रो चरणको स्थानीय तह बिथोल्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि तराईको जनजीवन प्रभावित बनेको हो ।
